समाचार

म्याग्दीमा बाढीपहिरो : ८५ घर भत्किए


काठमाडौँ – यस वर्षको मनसुन शुरु भएयताको बाढीपहिरोमा परेर म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति पुगेको छ ।

बाढीपहिरोको कारणले १४४ घर उच्च र ७३ घर सामान्य जोखिममा परेका जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले जिल्लामा दुई जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका छन् ।

पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार र मृतक दुईजनाका परिवारलाई तीन लाख राहत उपलब्ध गराएको छ। पाँच जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी सङ्ख्यामा सदस्य भएका परिवारलाई २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित परिवार आफन्तको घर र सामुदायिक भवनमा बसेका छन् । कतिपय परिवार टहरा बनाएर सामूहिकरुपमा समेत बसेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगङ्गाको बेग, बेनीको सिंगा तातोपानी, मङ्गलाको अर्मन, मालिकाको रुम र धौलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । म्याग्दीमा गत वर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा समस्या भएको स्थानीय प्रशासनले जनाएको छ। गत वर्ष पहिरोले म्याग्दीमा २४७ घर भत्किएका थिए। जसमध्ये म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले ४० वटा घर बनाएको छ ।

सरकारले पहिरोले भत्किएका हिमाली जिल्लाका घर बनाउन प्रतिघर पाँच लाखका दरले अनुदान दिने निर्णय गरेको थियो । निर्णयानुसार आवश्यक बजेट व्यवस्थापन नगर्दा सबै पहिरो पीडितले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको पनि अनुदान पाएका छैनन् ।

गएको वैशाख अन्तिम साता एक करोड आठ लाख ९७ हजार ५०० पठाएको गृहमन्त्रालयले असारमा थप ३६ लाख ३२ हजार ५०० पठाएको थियो। मोनाले बनाएकाबाहेकका घरका लागि १० करोड बजेट माग गरिएको जनाएको छ ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा घर बनाउने कार्यविधि भए पनि सङ्घ र प्रदेशले बजेट नपठाएकाले पुनःनिर्माण प्रभावित भएको स्थानीय तहका पदाधिकारीले बताएका छन् । धौलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम, देवीस्थान, रघुगङ्गाको भगवती र अन्नपूर्णको फगाममा पहिरोले बढी क्षति गरेको छ ।