राजनीति

विप्लव र सीता दाहालको भावुक भेट !


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे । केही समयको वार्तापछि विप्लवले प्रचण्ड पत्नी सीता दाहाललाई पनि भेटे ।

सीता लामो समयदेखि बिरामी छिन् । उनी पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । पछिल्लो समय उनी बोल्न र आगन्तुकलाई राम्रोसँग ठम्याउन सक्दिनन् ।

विप्लव बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताबारे छलफल गर्न खुमलटार गएका थिए । प्रचण्डसँगको वार्ता सकिएपछि उनले बिरामी सीता दाहाललाई पनि भेटे । सीताले सुरुमा विप्लवलाई चिन्न सकिनन् ।

केही बेरसम्म विप्लवले सीतालाई बोलाइरहे । विप्लवले बोलाउँदा उनले एकटकले हेरिरहिन् । केहीबेरमा विप्लवलाई ठम्याएपछि भने अँगालो हालेर भावुक भइन् । अनि हातका इसाराले कुरा गर्न खोजिन् ।

यसअघि विप्लवका छोरा प्रकाश चन्द पनि सीता दाहाललाई भेट्न खुमलटार पुगेका थिए । त्यति बेला पनि सीता प्रकाशलाई चिनेपछि अंगालो हालेर भावुक बनेकी थिइन् । उक्त तस्वीर सामाजिक सन्जालमा समेत सार्वजनिक भएको थियो ।

प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सेयर गरेको यो तस्बिरको क्याम्पसनमा लेखेकी छन्, ‘पुनर्मिलनको एउटा तस्बिर….!’

प्रचण्डको सचिवालयका अनुसार सशस्त्र माओवादी विद्रोहका एक योद्धा विप्लवले ५ वर्षभन्दा बढी समयपछि सीता दाहालसँग भेट गरेका हुन् । त्यो भेटमा उनीहरूबीच कति आत्मीयता झल्किएको छ, त्यो कुरा तस्बिरले नै प्रस्ट पार्छ ।