समाचार

सरकारले बढायो यातायातमा २८ प्रतिशतसम्म भाडा


काठमाडौँ – यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ । हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो ।

विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ । तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताउनुभयो ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ । असार २७ गते यससम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको प्रवक्ता भुसालले बताउनुभयो ।