देश

एनसेलले अब भ्वाइस ओभर एलटीई सेवा सुरु गर्ने


काठमाडौँ – निजी दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले फोरजी एलटीई प्रविधिमा आधारित एचडी भ्वाइस कल (भ्वाइस ओभर एलटीई) सेवा सुरु गर्ने भएको छ । देशभर फोरजी एलटीई सेवा विस्तार गरिरहेको एनसेलले त्यसैमा आधारित एचडी भ्वाइस सेवा सेमत दिने भएको हो । सरकारी स्वामित्वको नेपाल टेलिकमले भने गत जेठ ३ बाट यो सेवा सञ्चालनमा ल्याइसकेको छ । टेलिकमले सेवा सञ्चालनमा ल्याएको करिब दुई महिनापछि एनसेलले पनि आफ्ना ग्राहकलाई फोरजी एलटीईमा आधारित एचडी भ्वाइस सेवा उपलब्ध गराउने खबर आएको हो ।

त्यसका लागि हाल एनसेलले आवश्यक तयारी गरिरहेको कम्पनी स्रोतले जनाएको छ । स्रोतका अनुसार कम्पनीले हाल काठमाडौं उपत्यकामा रहेका आफ्ना बीटीएस टावरमा भीओएलटीईका लागि आवश्यक पूर्वाधार जडानको काम अन्तिम चरणमा पुर्‍याएको छ । त्यस्तै, काठमाडौं उपत्यकासँगै बाहिरका केही स्थानमा समेत एनसेलले सुरुवाती चरणमै यो सेवा उपलब्ध गराउने बताइएको छ । जसमा सम्भवतः पोखरा, विराटनगर, बुटवल लगायतका केही समेटिन सक्ने छन् ।

स्रोतका अनुसार कम्पनीले आफ्ना प्रयोगकर्तालाई ९०० मेगाहर्जको फ्रिक्वेन्सी ब्याण्डमार्फत भीओएलटीई सेवा उपलब्ध गराउनेछ । टेलिकमले भने १८०० र ८०० मेगाहर्ज ब्याण्डमा भीओएलटीई सेवा उपलब्ध गराइरहेको छ ।

यो सेवा सुरु भएसँगै एनसेलका प्रयोगकर्ताले उच्च गुणस्तरको भिडियो तथा अडियो कल गर्न पाउने छन् । हाल डेटा चलाउँदा मात्रै डिभाइस फोरजी इन्टरनेटमा कनेक्ट हुन्छ । तर, अब भोल्टे सुरु भएपछि भने मोबाइलले हर बखत फोरजीमै काम गर्नेछ ।

हाल इन्टरनेट डेटा मात्रै फोरजी सेवामा चल्ने गरेको छ भने भ्वाइस कलका लागि थ्रीजी तथा टुजीमा फलब्याक हुनेगर्छ । तर अब भिओएलटीईमा भने भ्वाइस कल समेत फोरजीबाटै हुनेछ । यसको मतलव अब भ्वाइस कल समेत फोरजी नेटवर्कमै हुनेछ ।