खेलकुद

कोपा अमेरिकाः नेयमार र मेस्सीबीच प्रतिष्ठाको लडाइँ , ब्राजिल र अर्जेन्टिनामध्ये कस्ले मार्ला बाजी


काडमाडौँ – जब फुटबलको नाम आउछ तब पेले र म्यारोडोनाको नाम पनि सँगै जोडिएर आउँछ । विश्व फुटबल र यी दुईको नाम पर्याय नै बनेको छ । भोलि यिनै पर्याय बनेका दुई खेलाडीका राष्ट्रबीच कोपा अमेरिकाको फाईनल खेल हुँदैछ ।

फाइनल खेलमा साथी भनेर हुन्छ त ? हाम्रो मित्रता दाउमा हुनेछ– विश्वका चर्चित ब्रजिलियन खेलाडी नेइमारले आईतबार हुने कोपा अमेरिका फुटबल फाइनल अघि दिएको प्रतिक्रिया हो यो । स्पेनीस क्लब बार्सिलोनामा चार वर्ष सँगै बिताएका नेइमार र अर्जेन्टिनाका कप्तान लियोनल मेसीको व्यक्तिगत सम्बन्धको बारे सबै फुटबल प्रेमीहरु जानकार नै छन् । उनीहरुको साथीत्वको हर–कोहीले प्रशंसा गर्छन् । तर, जब कुरा राष्ट्रको आउछ त्यसमा साथीको सम्बन्धभन्दा माथि देशभक्ति हुन्छ भन्ने नेइमारको यस भनाईले पुष्टि गर्छ ।

मेसीले आफ्नो १६ वर्षे क्लब जीवनमा फुटबलमा जित्न सकिने सम्पूर्ण उपाधि जितिसकेका छन् । उसले जित्न बाँकी अन्तर्राष्ट्रिय स्तरको ठूलो उपाधि मात्र हो । मेसीको आलोचनाको विषय पनि यसैलाई लिने गरिन्छ । मेसीको फुटबल करिअरमा केहीको कमी छ भने अर्जेन्टिनाबाट महत्वपूर्ण उपाधिको नै हो । त्यसो त मेसीले उमेर समूहमा र ओलम्पिकमा राष्ट्रको लागि उपाधि जितिसकेका छन् । त्यस्तै मेसीले जस्तै नेईमारले पनि ओलम्पिकमा बाहेक अरुमा अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन् । उनले सन् २०१६ मा आफ्नै घरमा भएको ओलम्पिकमा ल्याएको गोल्ड मेडल नै देशका लागि दिलाएको सबै भन्दा ठूलो अन्तर्राष्ट्रिय उपाधि हो । त्यसैले दुई स्टार कोपा जित्न आतुर छन् र दवावमा पनि ।

मेसीले राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गरे पनि उनी उपाधी हासिल गर्न भने अहिलेसम्म असफल नै छन् । हुन त मेसीले अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मौका पाएको यो पहिलो पटक भने होइन । यसअघि पनि २००७ को कोपा, २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकको फाइनलमा पुगेर उपाधिबाट वञ्चित भएका थिए । जारी प्रतियोगितामा पनि मेसी उच्च लयमा देखिएका छन् । अहिलेसम्म अर्जेन्टिनाले गरेको ११ गोलमध्ये ९ गोलमा मेसीे प्रत्यक्ष संलग्न भएका छन् । उनले चार गोल र पाँच गोलका लागि असिस्ट गरेका छन् ।

ब्राजिल र अर्जेन्टिनाको फुटबल इतिहास हेर्ने हो भने अर्जेन्टिना बलियो देखिन्छ । अहिलेसम्म समग्रमा यी दुई १११ पटक आमनेसामने भएको छन् । जसमा अर्जेन्टिनाले ४६ जित हात पार्दा ब्राजिलका नाममा ४० जित छ । बाँकीका २५ खेल बराबरीमा सकिएको छ । तर, पछिल्लो खेलको प्रर्दशनलाई हेर्ने हो भने ब्राजिल निकै उत्कृष्ट लयमा देखिन्छ । ठूलो प्रतियोगितामा ब्राजिल नै हावी हुने गरेको छ । दुई राष्ट्रबीचको पछिल्लो खेलमा अर्जेन्टिनाले १–० ले जितेको थियो भने त्यो भन्दा पहिलेको खेल कोपा सेमीफाइनलमा ब्राजिलले २–० ले जितेको थियो ।


आईतबार बिहान यी दुई खेलाडीमध्ये एक जनाको देशका लागि अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा हुनेछ । कोपा अमेरिकाको फाइनल खेलमा यी दुई देशबीच नेपालीसमय अनुसार बिहान ५ः४५ मा माराकाना स्टेडियममा हुँदैछ । जसमा एकको जित निश्चित छ । यस खेललाई समर्थकले मेसी र नेईमारबीचको भिडन्तको रुपमा पनि लिएका छन् ।