राजनीति

कांग्रेसमा पूर्खाको विरासत कति जब्बर ? गगनलाई हराएका शशांक सभापति बन्न सक्छन् ?

तीनै नेताका तीन पुत्रले १४ औं महाधिवेशनबाट एकपटक पुख्र्याैउली विरासत फर्काउने चेष्टा गरेपनि अहिलेको राजनीतिक परिवेशले साथ दिने सम्भावना भने कमजोर देखिन्छ ।


काठमाडौँ – महाधिवेशनको सरगर्मी बढीरहेका बेला नेपाली कांग्रेसभित्र आकंक्षीको संख्या पनि बढ्दो छ । सभापतिमै दर्जन आकंक्षी देखिएका छन् भने उपसभापति र महामन्त्रीमा पनि नेताहरु विस्तारै खुल्दैछन् । जसमा बलियो विरासतका नेताहरुले अरुलाई तर्साउने काम गरिरहेका छन् ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिएसंगै संस्थापक नेताका पुत्रहरु नेतृत्वमा पुग्ने र पुरानो विरासतलाई निरन्तरता दिने तयारीमा छन् । जसमा संस्थापक नेता महेन्द्रनारायण पुत्र विमलेन्द्र निधि, बीपी पुत्र शशांक कोइराला र गणेशमान पुत्र प्रकाशमान सिंह अग्रभागमा देखिएका छन् । यी तिनै जना सभापतिका आकंक्षी हुन् । पार्टी पदाधिकारीको विभिन्न जिम्मेवारीमा रहेर क्रियाशिल यी नेताहरुकोयोगदान त छदैछ, पुख्र्याैली विरासत झनै बलियो छ ।

जसले उनीहरुलाई नेतृत्वमा जान थप मद्दत मिल्ने भएपछि अन्य नेताहरुलाई यसले पोलिरहेको छ । पुख्र्यौउली विरासतकै ब्याज खाएर नेतृत्व हत्याउन खोजेको भन्दै केही नेताहरुले मन दुखाएका छन् । आसन्न महाधिवेशनमा उपसभापति वा महामन्त्रीमा आफ्नो उम्मेद्वारी दिने तयारी गरेका नेता प्रकाशसरण महतले विरासतका आधारमा भन्दा पनि योगदानका आधारमा नेतृत्वमा पुग्नुपर्ने औल्याएका छन् ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको विश्वास पात्रका रुपमा रहेका महतले तीन सभापतिका आकंक्षीलाई लक्षित गरि उनीहरुको फरक समीकरण बनाउने प्रयाससमेत जायज नभएको बताउँछन् । यसअघि संस्थापन पक्षका निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कोइराला र सिंह मिलेर फरक समीकरण बनाउने र देउवाको विकल्प खोज्ने दाबी गरेका थिए । यद्यपी यहीँ भित्र पनि कसले कसलाई छाडेर अघि बढ्ने भन्ने विषयमा सहमति जुट्न सकेन ।

त्यसबाहेक देउवा र पौडेललाई समेत उनीहरुको समीकरण मन परेको थिएन । अन्तिमपटक महामन्त्री शशांक कोइरालाको निवासमा आफु पक्षिय केन्द्रीय कमिटी बोलाएर छलफल चलाउने योजना बनाएका उनीहरुलाई पौडेलले दबाब दिएपछि पछि हटेको कतिपय नेताहरु बताउँछन् । अहिले उनीहरुको फरक समीकरण बनाउने प्रयास समेत निष्कृय जस्तो बनेको छ । फलस्वरुप सिंह र कोइरालासहितलाई भेला गरेर वरिष्ठ नेता पौडेलले छलफल चलाइरहेका छन् ।

कांग्रेसमा विरासतको भूमिका जब्बर नै देखिन्छ । १३ औं महाधिवेशनमा शशांकले बीपीको बलियो विरासतकै कारण गगन थापालाई हराएर महामन्त्री जितेका थिए । जसमा २५ वर्ष कांग्रेस सभापति भएर पार्टी चलाएका पिता बीपीको विरासतले काम गरेको विश्लेषण पनि नभएको होइन । लौहपुरुष गणेशमान र कांग्रेसमा गान्धीवादी नेताको उपमा पाएका महेन्द्रनारायणको विरासत पनि बलियो छ । यी तीनै नेताका तीन पुत्रले १४ औं महाधिवेशनबाट एकपटक पुख्र्याैउली विरासत फर्काउने चेष्टा गरेपनि अहिलेको राजनीतिक परिवेशले साथ दिने सम्भावना भने कमजोर देखिन्छ ।