अर्थनीति

खुल्यो युनियन लाइफ इन्स्योरेन्सको आइपिओ


काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) आज (असार २४ गते) देखि खुलेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो ।

जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । कम्पनीको आइपिओमा २८ गतेसम्म आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीले इक्रा नेपालबाट ट्रिपल बी रेटिङ प्राप्त गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ । इक्रा नेपालले एएए देखि डीसम्म रेटिङ प्रदान गर्दछ। जसले एएए सबैभन्दा राम्रो र डी सबैभन्दा कमजोर संकेत गर्दछ ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सिडिएससीको अनलाइन माध्यम मेरो सेयरमार्फत् वा आफ्नो खाता रहेको बैंक शाखाबाट पनि आवेदन भर्न सकिनेछ ।

नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु, ज्योति र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन् । आइएमई, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ । यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन् ।