समाचार

बाढीमा बेपत्ता भएका लामा कन्ट्रक्सनका ओभरसियर र चालक अझै भेटिएनन्


काठमाडौँ – पर्वतको कुस्मामा बुधबार बाढीले बगाउँदा बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । पध्यपहाडी लोकमार्गमा काम गर्ने लामा कन्स्ट्रक्शनका साइट इन्चार्ज राजाराम आचार्य र कार चालक इन्द थारुलाई अझै फेला पार्न नसकिएको पर्वतका प्रहरी प्रमुख डिएसपी विशवराज वुढाथोकीले जानकारी दिनुभयो ।

ओभरसियर आचार्य काठमाडौँको जोरपाटीका स्थायी बासिन्दा हुन् भने थारु कैलालीका हुन् । ‘आज पनि बिहानैदेखि हामी उहाँहरुको खोजीमा जुटेका छौँ,’ डिएसपी वुढाथोकीले भने, ‘बगेको ठाउँबाट नकिकै मोदी नदी छ । उहाँहरु मोदीमै वेपत्ता भएको अनुमान हामीले गरेका छौँ ।’

आचार्य र थारु सवार प्र.३–०१०२३च३६४२ नम्बरको कार भने बगेको ठाउँबाट झण्डै डेढ किमी तल मोदी खोलाको भंगालोमा फेला परेको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा ८ मा रहेको सुन्दरखोलामा आएको बाढीले बुधबार राति कार बगाउँदा दुई जना बेपत्ता भएका हुन् ।

आज बिहानैदेखि पर्वतसहित आसपासका जिल्लामा ठूलो पानी परिरहेकाले बेपत्ताहरुको खोजी कार्यमा समस्या सिर्जना भएको डिएसपी वुढाथोकीले बताउनुभयो । ‘हिजो भन्दा पनि आज नदीनाला बढेका छन्, बेपत्ताहरुको खोजीमा झन् कठिनाई उत्पन्न भएको छ,’ ।