समाचार

बाढीले माडीका बस्ती डुबानमा


काठमाडौँ – बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका दर्जनौं बस्तीका सयौँ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । त्यहाँका घरहरूमा पानी पस्न थालेको छ ।

माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । माडी नगरपालिका(७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ । मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।

रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेको छन् । खोलामा पानीको सतह बढेर कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको छ । अहिले पनि पानी परिरहेको स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।