समाचार

खोलाले लामा कन्ट्रक्सनको गाडी बगाउँदा तीन जना बेपत्ता


काठमाडौँ – पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् ।

गए रातिको वर्षापछि बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इन्जिनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन् । गाडीमा सवार अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बाढीले तीन वटा घरसमेत बगाएको छ। खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिस भने भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।