विदेश

अमेरिकी सेनाले अफगानिस्तानको बगराम एयरबेस छाड्यो


काठमाडौँ – अमेरिकी सेनाले अफगानिस्तानको बगराम एयरबेस छोडेको छ । अफगानिस्तान सरकारलाई जानकारी नगराइकन अमेरिकी सेनाले बगराम एयरबेस छोडेका बीबीसीले जनाएको छ । अफगानिस्तानको सुरक्षाफौजले पनि यसबारे पुष्टि गरेको खबरमा उल्लेख छ । तर अमेरिकाले भने त्यहाँका नेताहरुलाई जानकारी गराएर मात्रै बगराम एयरबेस छोडेको प्रतिक्रिया दिएको छ ।

अमेरिकाले बगराम एयरबेस छोडेको र योसँगै अफगानिस्तानमा अमेरिकी सैन्य अभियानको अन्त्य भएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ भन्दा पहिले अफगानिस्तानमा रहेका आफ्ना सैनिकलाई स्वदेश फर्काउने यसअघि नै घोषणा गरिसकेका थिए । अफगानिस्तानका विभिन्न राज्यमा अहिले विद्रोही समूह तालिबानले कब्जा जमाउन थालेको छ ।

अमेरिकी सेनालाई स्वदेश फर्काउने तयारी भएसँगै त्यहाँ तालिबानको सक्रियता बढेको छ । सन् २००१ मा अमेरिकाको आक्रमणपछि तालिबानी लडाकु बगराम एयरबेसबाट भागेका थिए ।