समाचार

समयमा खाने कि भोक लागेपछि खाने ? यस्तो छ भोजनको नियम


काठमाडौँ – हाम्रो मान्यता के छ भने, जब भोक लाग्छ, तब खानुपर्छ । कतिले चाहिं समय तालिका अनुसार खाइरहेका हुन्छन् । भोक लागेपनि, वा नलागे पनि । कुन तरिका सही हो त ? कुरा सामान्य छ, हामी बाँच्नका लागि खान्छौं । स्वस्थ्य हुनका लागि खाना खान्छौं । अर्थात खानाले हामीलाई स्वस्थ्य जीवन बाच्न सहयोग गर्छ । तर, कस्तो खानाले ? कतिबेला खाँदा ? कसरी खाँदा ?

सुन्दा सामान्य लाग्छ, तर खाना मात्र भएर पुग्दैन । खाने तरिका पनि जान्नुपर्छ । विधीपूर्वक सेवन गरिएको खानेकुराले शरीरमा यथेष्ठ पोषण दिन्छ ।

विहान १० बजे घडि हेर्दै भन्छौं, ‘अहो दश बजिसकेछ अब त खाना खानुपर्छ ।’ अनि अलि विहानको समयमा भन्छौं, ‘बल्ल सात बजेको छ के खाना खानु यत्ति छिटो ?’

हामी आफ्नो आवश्यकता अनुसार खानाको कुरामा पनि हामीलाई घडिले कजाईरहेको छ । फलस्वरुप आजकाल मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको चिकित्सकहरु बताउँछन् ।

भोक लागेपछि खानुका फाइदा

१. शरीरको आवश्यकता पुरा हुन्छ

जब भोक लाग्छ, दिमागले राम्ररी काम गर्न सक्दैन । त्यसैले भोक लागेपछि खानु राम्रो हुन्छ किनकी यसबाट शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।

२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ

भोक लाग्दा सन्तुलित भोजन लिइयो भने त्यसमा रहेको भिटामिन, मिनरल्स, फाइबर र फ्याट सजिलै शरीरमा अवशोषित हुन्छन् र उर्जा प्राप्त हुन्छ ।

भोक लागेपछि मात्र खाँदाका बेफाइदा

१.सही पोषकतत्व प्राप्त गर्न सकिन्न

जब भोक लाग्छ, त्यतिबेला यो सोचिदैन कि के खानु सही र के खानु गलत हुन्छ । जे भेट्यो त्यही खाने गरिन्छ । यसले गर्दा कहिलेकाहीँ अस्वस्थकर कुराहरु पनि पेटमा पर्छ । र, सही पौष्टिक तत्व प्राप्त हुँदैन ।

२. आवश्यकताभन्दा बढि खाइन्छ

धेरै भोक लागेको बेला दायाँबायाँ नहेरी अघाउन्जेल खाने गरिन्छ । यसरी खाँदा कहिलेकाहीँ आवश्यकताभन्दा बढि खाइन्छ । यो बानीले स्वास्थ्यमा धेरै समस्याहरु निम्त्याउन सक्छ ।

समयमा खाँदाका फाइदा

१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ

नियमित समयमा सही चीज खाँदा आवश्यकताभन्दा बढि खाइदैन, जसले गर्दा पाचन तन्त्रमा धेरै दवाव पर्दैन र स्वस्थ रहन सकिन्छ ।

२. एसिडिटी र थकान हुँदैन

नियमित एउटै समयमा खाने गरिएको छैन भने पेटसँग जोडिएका धेरै समस्याहरु उत्पन्न हुन सक्ने सम्भावना बढ्छ । त्यसैले समयमा खाँदा थकान र पेटको समस्या हुँदैन । जसले गर्दा शरीरमा उर्जा प्राप्त हुन्छ ।

३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ

आफ्नो समयमा खानुहुन्छ भने शरीरुलाई खानामा रहेका पोषकतत्वहरु सही ढंगले अवशोषण गर्ने समय प्राप्त हुन्छ । यसले गर्दा शरीर स्वस्थ रहन्छ ।

टाइममा खाँदाका बेफाइदा

१. भोक मर्छ

कहिलेकाहीँ खाने समयभन्दा अगाडि नै भोक लाग्न सक्छ । यस्तोमा यदि आफ्नो समयमा खान्छु भनेर पर्खियौं भने भोक मरिसक्छ । यसले गर्दा पेटमा विभिन्न समस्या उत्पन्न हुन सक्छन् ।

२. खाना नाश हुन्छ

कहिलेकाहीँ खाने टाइममा पनि भोक लागेको हुँदैन । यस्तो बेलामा जबरजस्ती खाँदा खाना रुच्दैन । यसले एकातिर खाना नाश हुन्छ भने अर्कोतिर शरीरले आवश्यक पौष्टिक तत्व प्राप्त गर्न सक्दैन ।

३. चाँडै थकान हुन्छ

कहिलेकाहीँ हल्का खाना खाने हो भने जुन चाँडै नै पच्छ र फेरि भोक लाग्छ । तर, खानको लागि नियमित समयको प्रतिक्षा गरिन्छ । यस्तोमा कमजोरी र थकान हुन्छ । जसले गर्दा आफ्नो काममा ध्यान केन्द्रित गर्न सकिदैन ।