समाचार

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाइते


काठमाडौँ – बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह धामीको मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने काम भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताउनुभयो । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।