समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी, निर्णय गर्न सीडीओको बैठक बस्दै


काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा अझै एक साता निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । त्यसका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज दिउँसो ३ बजे बजे बस्ने तय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

‘आज ३ बजे हामी बैठक बस्दै छौं,’ ‘साँझ ५ बजेसम्ममा निर्णय सार्वजनिक गर्छौं ।’ प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा विज्ञहरूसँग सरसल्लाह भइरहेको छ ।’

यसअघि घोषित निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदै छ । पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ ।

यसपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो । काठमाडौँ उपत्यकामा गत वैशाख १६ मा सुरु निषेधाज्ञा पकटपकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ । तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ ।