खेलकुद

युरोकपमा चेक रिपब्लिकले डेनमार्क तथा युक्रेनले इंग्ल्यान्डको सामना गर्ने



काठमाडौँ – युरोकप फुटबलमा आज पनि क्वाटरफाइनलका दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड भिड्ने छन् ।

चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे हुनेछ । चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् । यस्तै इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२ः४५ बजे हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् । इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । युक्रेनले भने स्वीडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो ।

इंग्ल्यान्ड र युक्रेनबीच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ । आजको खेलसँगै युरोकपमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । यसअघि स्पेन र इटाली सेमिफाइनल पुगिसकेका छन् ।