समाचार

सोमबारदेखि ७६ मेगावाट विद्युत उत्पादनको तयारीमा माथिल्लो तामाकोशी


काठमाडौँ – स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम धमाधम भइरहेका छ ।

७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश विद्युत उत्पादन हुनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारबाटदेखि विद्युत उत्पादनको तालिका तय गरेको हो ।

टोलीले विद्युतगृहमा भइरहेको उपकरणहरुको परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेसनलगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरुसँग छलफल गरेको थियो ।