राजनीति

प्रधानमन्त्रीको कार्यकर्ता बन्दा राष्ट्रपति पदको गरिमा सकियो : देउवा


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको लोत्सेहलमा बुद्धिजीवीसँग गरेको अन्तक्र्रियामा बोल्दै सभापति देउवाले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताएका हुन् ।

संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दे उनले बहुमत पुराएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्‍याए ।

संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायलयको निश्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्था अनुसार नै अदालतको फैसला आउनेमा आफूहरू विश्वस्त रहेको बताए । उनले अदालतले स्वतन्त्र न्यायलयको छबि कायम नै राख्नेमा आफू विश्वस्त रहेको पनि बताए ।