समाचार

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको परीक्षण सफल


काठमाडौँ – स्वदेशी लगानीमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो (४५६ मेगावाट) क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ ।

परीक्षण सफल भएसँगै यसै सताबाट नियमित विद्युत् उत्पादन सुरु हुने आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार आयोजनाको मुख्य संरचना, सुरुङ, बाँध, डिस्यान्डर र मेकानिकल परीक्षण पूरा भएको छ । ‘सबै संरचनाको परीक्षण सफल भयो,’ श्रेष्ठले भने, ‘अब यसै साताबाट आयोजनाबाट विद्युत् उत्पादन नियमित हुनेछ ।’

२०६७ सालको भदौबाट माथिल्लो तामाकोसीको निर्माण सुरु भएको थियो । २०७२ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीको थियो। तर, ०७२ सालमै नेपालमा गएको विनासकारी भूकम्पसहित विभिन्न कारणले निर्माणको काम पूरा हुन ढिलाइ भएको हो ।

४८ घण्टा लगाएर आयोजनाको मुख्य सुरुङमा पानी भर्ने काम सफलतापूर्वक सकिएको श्रेष्ठले जानकारी दिनुभयो । माथिल्लो तामाकोसी आयोजनाको विद्युत् प्रवाह हुने २२० केभी खिम्ती–ढल्केबर प्रसारणलाइन तयारी अवस्थामा छ । न्यू खिम्ती सबस्टेसनमा ‘लाइन आउट र लाइन इन’ गर्ने काम पनि आइतबारबाट सुरु भएको श्रेष्ठले बताउनुभयो । आयोजनाको विजुली केन्द्रीइ प्रसारण प्रणालीमा जोड्नुअघि २४ घन्टाका लागि परीक्षण उत्पादन गरेर हेर्नुपर्ने हुन्छ ।

आयोजनाका इलेक्ट्रिकल महाशाखा प्रमुख पूर्णगोपाल रञ्जितले जतिसक्दो चाँडो आयोजनाको विजुली राष्ट्रिय प्रसारणमा जोड्ने गरी काम भइरहेको जानकारी दिए। आयोजनाको विजुली न्यू खिम्ती सबस्टेसनमा आउने र जाने गरी चारवटा ७२ मिटर अग्ला टावर निर्माण गरिएको छ।

सहरेटारबाट उत्तरतिरको टावरबाट माथिल्लो तामाकोसीसहित गर्जाङ–खिम्ती र लिखु–खिम्ती ३ प्रसारण लाइनबाट आएको विद्युत् सबस्टेसनमा जोडिने छ । त्यसैगरी दक्षिणतिरको टावरबाट खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमा जोड्ने तयारी छ।

४ वटा टावरको लाइन तानेपछि माथिल्लो तामाकोसीको विद्युत् काठमाडौँ र तराईमा एकैसाथ जोड्न सकिनेछ । अबको एक सातामा पहिलो युनिटबाट ७६ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । आयोजनाका ६ वटै युनिटबाट आगामी भदौसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।