Uncategorized

साताको शेयर विवरण, नेप्से घट्नुमा नियामक मुख्य कारण हो : लगानीकर्ता


काठमाडौँ – धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम नै सार्वजनिक गर्दै नेपालको शेयर बजारमा अस्वाभाविक वृद्धि भएको टिप्पणी गरेपछि लगानीकर्ताहरूको मनोबल गिरेको देखिएको छ । असार १ गते मंगलबार नेपाल धितोपत्र बोर्डले अप्रत्याशित झड्का दिएयताका कारोबारको रकम मात्रै हेर्ने हो भने पनि लगभग एक तिहाइले घटेको अवस्था छ ।

यो साता शेयर बजारका सबै महत्वपूर्ण परिसूचकहरु घटेका छन् । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्ससँगै समूहगत सबै परिसूचक गत साताभन्दा यो साता घटेका हुन् । यी सँगै कारोबार रकम, कारोबार कित्ता र कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता कम भएको छ । असार १ गते मंगलबार १६ अर्ब ४० करोडको कारोबार भएकोमा अर्को दिन असार २ गते बुधवार एक अर्बले कारोबार रकममा गिरावट आयो । अघिल्लो साताको अन्तिम कारोबारका दिन पनि कारोबार रकमको आधारमा हेर्ने हो भने लगानीकर्ताहरूको मनोबलमा उच्च गिरावट आएको देखिन्छ । अघिल्लो दिनको तुलनामा असार ३ गते पाँच अर्ब हाराहारीमा कारोबार रकमका कमी आएको थियो । भलै त्यो दिन नेप्से परिसूचक १ अंकले मात्रै तल झरेको थियो ।

कारोबार रकम यो साताको पहिलो र दोस्रो दिन साढे ११ अर्बको हाराहारीमा रह्यो । नेप्से परिसूचक साताको दोस्रो दिन फेरि उच्च अंकले तल झरेपछि त्यसलाई भरथेग गर्ने प्रयासमा मंगलबारको कारोबारबाट फेरि २९ सय १३ अंकमा पुग्दा उत्साहजनक वृद्धि देखिएको थियो । तथापि, साताको चौथो दिन बुधवारको कारोबारमा लगभग ५४ अंकको भारी गिरावट र कारोबार रकममा दुई अर्बको कमी आएपछि भने साताको अन्तिम कारोबारमा लगानीकर्ताहरूले उच्च मनोबलका साथ शेयर किनबेच गर्न सकेनन् । विगत १० दिनको कारोबारलाई हेर्ने हो भने नेप्से परिसूचकमा ठुलो गिरावटको भएको देख्न सकिन्छ । नियामक निकायले शेयर बजारमा देखिएको बुद्धिलाई अस्वाभाविक भनेर टिप्पणी गरे साँगै लगानीकर्ताहरू अक्रोसित बनिरहेका बेला बजारले पनि मनोबल गुमाएको देखिन्छ ।

नेपालको पुँजी बजारमा ठूला लगानीकर्ताहरूले आम लगानीकर्ताहरूलाई बजार फेरि लयमा फर्किने हुँदा नआत्तिन आग्रह गरिरहेका छन् । यो साता नेपालको शेयर बजारमा देखिएको उतारचढाव र घट्दो कारोबार रकम पनि नेप्से परिसूचकमा देखिएको गिरावटलाई शेयर बजारका विश्लेषकहरूले सेबोनले हानेको तिरले नेप्से घाइते भएको भन्दै टिप्पणी गरिरहेका छन ।