समाचार

निरीक्षण गर्न गएका वडाध्यक्षको जेसिभीको बकेटले हिर्काएर हत्या


काठमाडौँ – सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या भएको छ । ईश्वरपुर- ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर संचालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पनि वडाध्यक्ष श्रेष्ठको हत्या भएको पुष्टि गरे । देवकोटाका अनुसार ईश्वरपुर ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो ।

शनिबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न गएका थिए । सो क्रममा नजिकैको पसलमा खाजा खानेक्रममा जेसीभीका चालक र वडाध्यक्षबीच बिबाद भएको थियो । खाजा खाएपछि दुवै पोखरी बिस्तार भइरहेको ठाउँमा गएका थिए ।

‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेछन्,’ मेयर देवकोटाले भने, ‘हत्या गरेपछ वडाध्यक्षलाई त्यही पुरेर चालक भागेका रहेछन् ।’

प्रहरीले जेसिभी चालक रविन तामाङ भनिने हरिपुर नगरपालिकाको जानकारी नगरका हर्कबहादुर तामाङलाई पक्राउ गरेको मेयर देवकोटाले जानकारी दिनुभयो ।