राजनीति

सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत र पुन:स्थापना गरियोस् भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौँ – सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुर्नस्थापना तथा भौतिक संरचना पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी मृतक भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४ सय परिवारलाई राहत र पुर्नस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री ओलीसँग नदीहरुको नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुल लगायतका विग्रिएका संरचनाहरुको तत्काल पुनःनिर्माण गर्नपनि एमाले बागमती प्रदेश कमिटीले ध्यानाकर्षण गराएको छ । असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परि सो क्षेत्रका १६ जनाको निधन भएको छ भने करिब ४ सय परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका सम्पूर्ण पूर्वाधारहरुमा समेत क्षति भएको छ ।