समाचार

जोरपाटी–सुन्दरीजल सडकको बेहाल : राजधानीकै यो सडकको हबिगत कहिले सुधार होला ? (फोटोफिचर)


काठमाडौँ – काठमाडौँको जोरपाटी बेसिगाउँस्थित नेपाल मेडिकल कलेजको सडकमा स्वास्थ्यकर्मी, गर्भवति, सुत्केरी, बिरामी र उनीहरुका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भईरहन्छ । तर, त्यहीँ अस्पताल आसपासका सडक भनेखाल्डाखुल्डी र हिलोले न सवारी चल्न लायकको छ, न मान्छे हिँड्न सक्ने खालको नै छ ।

नेपाल मेडिकल कलेज रहेको यही सडकमा सानो झरी पर्नासाथ हिलोको साम्राज्य नै खडा हुन्छ । राजधानीकै सडकको यतिसम्म खराब हालत हुँदा सम्बन्धित निकायले सुधारको कुनै पहल गरेको छैन ।

सडकमा पानी र हिलो जमेर किनारका घरहरुमा समेत बस्न सक्ने अवस्था छैन । सडक आसपासका स्थानीय व्यवसायीहरु सडकमा निस्कन मुस्किल भएको बताउँछन् । स्थानीयका अनुसार सडक हिलाम्मे र चिप्लो हुँदा अस्तपाल आउने बिरामीदेखि औषधि किन्न हिडेकाहरुसमेत समस्यामा परेका छन् ।त यहाँ बस्न नै गाह्रो भइसक्यो, ‘घाम लाग्दा धुलोले दुःख दिन्छ, पानी परेपछि हिलोले ।’ स्थानियहरुको गुनासो छ ।


सडकका खाल्डाखुल्डी नपुर्दा सवारी आवागमनमा समस्या देखिन्छ । सानासवारी साधन ठाउँ–ठाउँमा फस्ने गरेका छन् भने मोटरसाइकल समेत चिप्लिएर लड्ने समस्या बढ्दै गएको छ । यसले दुर्घटनाको भय पनि बढाएको छ ।

सडकको विभिन्न स्थानमा बनेका खाडल ताल र पोखरीमा परिणत भएका छन् । करिब ७ कि.मिको यो सडक खण्ड विस्तार एवं निर्माणका लागि दुई चरणमा ठेक्का लगाईएको थियो । तर दुवैतर्फको अधिकांश भागमा काम शुरू हुनसकेको छैन । काम शुरू गरेको स्थानमा पनि पूरा नगरी अलपत्र पारिएको छ ।