समाचार

जातीय विभेदको घटनामाथि निष्पक्ष छानबिन हुनुपर्छ : विवेकशील साझा पार्टी


काठमाडौँ – विवेकशील साझा पार्टीले घर भाडामा लिने–दिने प्रक्रियामा जातीय विभेद भएको भनी दिइएको जाहेरीको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ ।

जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र अनुसन्धान नै प्रभावित भएको भनी सार्वजनिक विवरणहरूप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राज्यशक्तिको दुरुपयोग गरेकाले उनी पदमा बस्न अयोग्य भएको साझाको ठहर छ । रूपा सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई हिजो शिक्षामन्त्रीको रोहबरमा छाडिएको थियो ।