समाचार

सन्तोषीको हत्यारा सार्वजनिक



काठमाडौँ – दक्षिणकालीको जंगलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्यारालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले मृतक सुब्बाको हत्यारा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी –१४ घर भई दक्षिणकाली नगरपालिकामा बस्ने २९ वर्षिय सुरेश तिमल्सिनालाई आज सार्वजनिक गरेको हो । सुब्बालाई दक्षिणकाली नगरपालिका – ७ को दक्षिणकाली मन्दिरस्थित जंगलपरिसरको पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा मंगलबार मृत अवस्थामा भेटिएको थियो ।

असार ६ गते मृतक सन्तोषी सुब्बाले अभियुक्त सुरेश तिमल्सिनालाई खाने र बासको समस्या भएको बताएपछि तिमल्सिनाले खाना र सुत्ने व्यवस्था आफुले काम गर्ने बसमा मिलाइदिन्छु भनी दक्षिणकालीको जंगलमा लगेर जर्बजस्ती गर्न खोजेको र मृतकले प्रतिकार गर्न खोज्दा घाँटी थिचि हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्र कुवेर खापुङले बताउनुभयो ।

अभियुक्तलाई लुकिछिपी बसेको अवस्थाबाट काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । अभियुक्तको साथबाट घटनाको बेलामा लगाएका कपडाहरु, मृतकको मोबाईल र मेमोरी कार्ड समेत फेला परेको प्रमुख खापुङले बताउनुभयो ।