समाचार

के हो ‘स्मार्ट लकडाउन’: के गर्न पाइन्छ, के गर्न पाइदैन ?


काठमाडौँ – महामारी नियन्त्रणको लागि भन्दै सरकारले अब ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेसंगै आम जनमासमा योे चर्चाको विषय बनेको छ । कतिपय सरकारमा रहेका व्यक्तिलाई नै स्मार्ट लकडाउनबारे उचित ज्ञान नभएका कारण कार्यान्वयनमा चुनौती देखिने विज्ञहरु बताउँछन् ।

सरकारले महामारीको दोस्रो लहर नियन्त्रणको लागि गत वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा हालसम्म कायम छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा असार ७ गते सकिदैछ । अब सरकारले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ । तर, ‘स्मार्ट लकडाउन’मा के हुने र के नहुने भन्नेमा आम सर्वसाधारणहरू अझै अन्योलमा छन् । स्वास्थ्य सेवा विभागले जनस्वास्थ्यका मापदण्ड कडा गरेर संक्रमण नसर्ने गरी जनजीवनलाई सामान्य बनाउँदै लगिने मोडालिटी नै ‘स्मार्ट लकडाउन’ भएको परिभाषित गरेको छ ।

‘स्मार्ट लकडाउन’मा भीडभाड कम हुने गरी बजार खोल्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने, कम संख्यामा सवारीका साधन गुडाउने लगायतका रणनीति समेटिनेछ । यता विज्ञले भने कतिपय सरकारमा रहेका व्यक्तिलाई नै यस विषयमा थाहा नभएको बताउछन् । उनीहरु जुन ठाउँ बढि संक्रमित छन् त्यहाँ बढि कडा गर्नु पर्ने, अनिबार्यरुपमा पिसिआर टेष्ट गर्नु पर्ने नै ‘स्मार्ट लकडाउन’ भएको बताउछन् ।

‘स्मार्ट लकडाउन’को अर्थ संक्रमणको जोखिम कम हुने गरी धेरैभन्दा धेरै सेवाका क्षेत्रहरु खुला गर्ने भनिएको हुन सक्ने विज्ञ बताउछन् । २० प्रतिशतभन्दामाथि संक्रमण देखिरहने जोखिम उच्च नै रहेको भन्दै अझै पनि सावधानी अपनाउनु पर्ने विज्ञहरुको जोड छ ।

‘स्मार्ट लकडाउन’ नेपालको लागि नौलो शब्दावली भए पनि विश्वका अन्य देशले यसको प्रयोग गरिसकेका छन् । पाकिस्तानले यसअघि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘स्मार्ट लकडाउन’को अभ्यास गरेको थियो । पाकिस्तानले ‘स्मार्ट लकडाउन’लाई कोरोना संक्रमण नियन्त्रणका लागि ल्याइएको महत्वपूर्ण विधि मानेको छ । त्यसैलाई पछ्याउदै नेपालमा पनि बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को बैठकले ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।