देश

थुनिएको रोङ्सी खोलाको प्रवाह विस्तारै सुरु, तामाकोशीका तटीय क्षेत्रमा आउन सक्ने जोखिम टर्‍यो


काठमाडौँ – नेपालको उत्तरी सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङ्सी नदीको प्रवाह बिस्तारै सुचारु गरिएको छ । नदीको प्रवाह सुचारु भएसँगै तत्कालका लागि सम्भावित गम्भीर जोखिम टरेको छ ।

शनिबार राति जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै चीनबाट प्राप्त जानकारी अनुसार पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाह सीमित मात्रामा सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । ‘शनिबार अपरान्हदेखि चिनियाँ पक्षबाट सो पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाहलाई सुचारु गर्ने कार्य सुरुवात भएको छ । पछिल्लो सूचना अनुसार हाल सो जलायसबाट पहिरोलाई सीमित रुपमा कटान गरि पानीलाई बगाउन सुरु गरिएको र हाल उक्त जलासयमा अनुमानित एक लाख घनमिटर पानी जम्मा भएको हुन सन्ने भनी तिङ्ग्री काउन्टीका सुरक्षा अधिकारीबाट जानकारी प्राप्त हुन आएको छ ।’ प्रशासनले शनिबार राति जारी गरेको सूचनामा भनिएको छ

जलाशयबाट पानी बग्न सुचारु भईसकेको हुँदा तत्कालकालाई कुनै जोखिम नभएको सूचनामा उल्लेख गरेको छ । तर, पनि जलासयको पानी पूर्णरुपमा खाली नभएसम्म सीमावर्ती क्षेत्र तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम कायमै रहने हुँदा नआत्तिइ सावधानीपूर्वक सजकता अपनाउन सीमावर्ती गाउँ र तामाकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ ।


शुक्रबार राति आएको हावाहुरीसहितको भारी वर्षाका कारण तामाकोशी नदीको सहायक नदी रोङ्सी थुनिँदा बाँध फुटेर कुनै पनि बेला नेपालको दोलखासहितका जिल्लामा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने जोखिम बढेको थियो ।