समाचार

सिक्टा सिंचाई आयोजनाले किशानलाई दिएको खुशी


काठमाडौँ – बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएपछि किसाहरु हर्षित बनेका छन् । उत्पादनमा भएको वृद्धिले गाँउका अन्य किसानलाई पनि अकार्षित गरेकोले आगामी वर्ष चैते धानमा रोप्नेको संख्या उल्लेख्य हुने आँकलन गरिएको छ ।

पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिन्छ । बर्दियाका किसानहरु १ दशक अघि देखि चैते धान तर्फ अकार्षित भए पनि उत्पादनमा भने सन्तुष्ट हुन सकिरहेका थिएनन् । यो वर्ष भने बाँकेका किसानहरुले चैते धान पर्याप्त फलाउन सफल भएका छन् ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निमार्ण भएको नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका थिए । नहरमा १२ महिना पानी आउन थाले पछि किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे । फलतः चैते धान फलाउन सफल भएपछि किसान हर्षित भएका छन् ।

यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान पनि चैते धान फलाउन सफल भएका छन् । किसानहरु असारको पहिलो सातासम्म चैते धान थन्काएर वर्षे धान लगाउने तयारीमा जुटेका छन् । कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो । अर्को वर्ष थप किसानलाई चैते धान रोपाईमा सहभागी गराउने केन्द्रको तयारीे छ ।

किसानहरुले गर्मी हुने ठाँउमा चैते धान फलाएर अन्य किसानहरुलाई उत्पादनमा जोडिन हौसला दिएका छन् । बाँकेमा चैते धान फल्ने खेतमा गँहु, मकै र तरकारीको खेती गर्ने चलन छ । सिक्टा सिंचाई आयोजनाले सिंचित हुने क्षेत्रमा धान उत्पादन गरेर किसानहरुलाई बैकल्पिक उत्पादनको बाटो देखाएको छ । आगामी वर्षमा ज्ञान केन्द्रले चैते धान खेती गर्न चाहने किसानलाई निशुल्क मल र धानको बिउ उपलब्ध गराए चैते धान लगाउने किसानहरुलाई थप हौशला पुग्ने देखिन्छ ।