देश

खाडी मुलुकबाट आउँदा अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने


काठमाडौँ – रोजगारको शिलशीलामा खाडी तथा मलेसिया गएका नेपाली कामदारहरु नेपाल फर्कन चाहन्छन् भने त्यस्ताले अनिवार्य पाँच दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । पहिलेको व्यवस्थालाई परिमार्जित गर्दै होटेल क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको हो । नयाँ नियमअनुसार नेपाल आउँदा ७२ घणटाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि काठमाडौँ आइसकेपछि पुनः कोरोना परिक्षण गर्नुपर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुका लागि सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएको जनाएको छ । यसअघि, रिपोर्ट नेगेटिभ भएकाहरुलाई घर जान दिने र घर गइसकेपछि होम क्वारेन्टिनमा बस्नुपर्ने भनिएको थियो । नेपाल भित्रिएका यात्रुले १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्दा क्वारेन्टिनमा बसेको चौथो र १०औँ दिनमा दुईपटक पीसीआर परिक्षण गराउनुपर्ने पनि प्राधिकरणले जनाएको छ ।
नेपाल भ्रमणका लागि आउने यात्रुले उडान गर्नुपूर्व ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ आएको रिपोर्टसहित तस्बिर र बारकोड, स्वाब संकलन समयसहितको विवरण पेस गर्नुपर्ने छ । यो व्यवस्था पाँच वर्षमुनिका बालबालिकाको हकमा भने लागु हुने छैन ।