राजनीति

सांसद पद गुमेपछि थापाले गरे गाडी फिर्ता


काठमाडौँ – पार्टीको निष्काशनसँगै सांसद पद गुमेपछि राष्ट्रिय जनमोर्चाका पूर्व सांसद कृष्ण थापाले सुविधा मार्फत् पाएको आफ्नो गाडी फिर्ता गरेका छन् । प्रदेश मामिला समिति सभापतिको रूपमा उनले पाएको गाडी शुक्रबार फिर्ता गरेका हुन् ।

उनले नदीपुरस्थित प्रदेश सभा सचिवालयमा लगेर गाडी बुझाएका छन् । ‘हिजै फिर्ता गर्छु भनेको थिएँ, तर मिलेन, आज फिर्ता गरिदिएको छु,’ उनले भने ।

पार्टी निर्णय विपरीत गएको भन्दै १ वर्षका लागि साधारण सभाबाट निस्कासित गर्नुका साथै थापाको सांसद पद पनि खारेज गरिएको हो । सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद् सचिवालयलाई पत्र पठाएका थिए । संसद सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ ।

गण्डकी प्रदेश सभामा सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अहिले आफैं विभाजित भएको थियो। सांसद कृष्ण थापा मुख्यमन्त्री गुरुङकै पक्षमा उभिएका थिए भने २ सांसद विरुद्धमा । तर सांसद थापाले भने यसअघि नै आफू अदालत जान सक्ने संकेत गरिसकेको छन् ।