देश

निषेधाज्ञाले निर्माण सामग्रीको मूल्य आकासियो, मजदुर अभावले अधिकांश व्यवसाय बन्द हुने अवस्थामा (भिडियोमा)


काठमाडौँ – देशभर कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै निर्माण क्षेत्र पनि प्रभावित छ । अधिकांश आयोजनामा काम गरिरहेका कामदारको संख्या घट्दो क्रममा छ, भने निर्माण सामग्री सकिँदै गएको छ । यता निर्माण व्यवसायी भने निर्माण सामग्री नै पाउन छोडेको तथा ढुवानी भाडा अत्याधिक बढेको बताउँछन ।

कोरोना भाइरसका कारण गतवर्ष झैँ यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण क्षेत्र समस्यामा परेको छ । निषेधाज्ञासँगै निर्माण व्यवसायीले पाउनुपर्ने अरबौँ अर्व रुपैयाँ भुक्तानी रोकिँदा बैंक किस्ता, राजश्व दाखिला, आपूर्तिकर्ता तथा मजदुरको भुक्तानी नहुँदा निर्माण क्षेत्र आर्थिक रुपले धरासायी भएको भएको विश्लेषण हुदै आएको छ । व्यवसायीले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने संकेत देखिएको निर्माण व्यवसायीहरुले बताएका छन् । यद्दपी गत जेठ १५ गते आएको बजेटको भने उनिहरुले स्वागत गरेका छन् ।

निर्माण क्षेत्रको हरेक विलमा कट्टी गरी राखेको धरौटी रकमको ५० प्रतिशत रकम फिर्ता दिने भनिएकोमा उनिहरु मख्ख छन् । तर, ठुला ठुला आयोजनाहरु अलपत्र रहेको भन्दै उनिहरुले ति आयोजनालाई यथेष्ट बजेट विनियोजन गर्न र समय थप गर्न ध्यान नपुगेको बताएका छन् ।
अघिल्लो निषेधाज्ञामा वैज्ञानिक ढंगले म्याद थप नहुँदा निर्माण व्यवसायी चर्को आर्थिक मारमा परेका थिए । यसपटक तोकिएको समयमा सम्पन्न हुन नसेकका परियोजनामा व्यावहारिक रुपमा म्याद थप गरी व्यवसायीलाई राहत दिनु पर्ने माग निर्माण व्यवसायीको छ । विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरूले आवासीय कामदार राखी निर्माण कार्य सञ्चालन गर्ने भनिए पनि श्रमिकहरू संक्रमण सर्ने डर र त्रासका कारणले काम गर्न डराउने र भएका श्रमिक पनि आआफ्नो बासस्थानतर्फ हिँडिसकेका कारण ठूला आयोजना समेत प्रभावित हुने देखिएको उनीहरुको भनाइ छ ।

हाल कोभिडको दोस्रो कहरसँगै आकाशिएको मूल्यवृद्धि, निर्माण सामग्रीको आपूर्ति र ढुवानीमा हुने कालोबजारी, मजदुरको अभाव, सरकारी निकायको समन्वयमा कमी जस्ता समस्या यस पटक दोहोरिन नदिन सरकारले समयमै उपयुक्त तथा प्रभावकारी कदम चाल्न जरुरी देखिन्छ ।