कोरोना विशेष

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप काठमाडौँ आइपुग्यो


काठमाडौँ – चीनले अनुदानमा दिएको कारोना विरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बेइजिङबाट उक्त परिमाणको खोप काठमाडौँ ल्याइएको हो ।

खोप ल्याएको उक्त जहाज मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमको जहाज खोप लिन सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो । आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप एकलाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले बाँकी १ लाख डोज खोप ल्याउने बताइएको छ ।

चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो । यसैसाता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ समकक्षी सी जिङपिङले नेपाललाई कोभिड–१९ महमारीविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।