कोरोना विशेष

पिसिआर परीक्षण कम गर्दैै कोरोना संक्रमितको संख्या घटाउदै सरकार (भिडियोसहित)


काठमाडौँ – सरकारले पछिल्लो समय कोरोना भाईरस संक्रमण परिक्षण घटाउदै लगेको छ । फलत गाँउगाँउसम्मै कोरोना संक्रमण पुगेपनि प्रतिदिन संक्रमितको संख्यामा भने कमी देखिएको छ । जबकि दैनिक ३० हजार जनाको परिक्षण गर्ने सक्ने क्षमता भएको सरकारले बताँउदै आए पनि पीसीआर ह्वात्तै घटाएको छ ।

गतहप्ता दैनिक जसो १० हजार जनामा कोरोना संक्रमण भइरहेको तथ्यांक सरकारले सार्वजनिक गर्दथ्यो । तर अहिले दैनिक ३÷४ हजारको दरमा संक्रमण पुष्टि हुँदै आएको छ । संक्रमित संख्या घट्नु स्वभाविक हो । यस्तो समाचार सुनेर कतिपयमा खुसीयाली पनि छाएको छ कि संक्रमण घट्यो । तर वास्तविकता त्यस्तो छैन । पीसीआर संख्या नै घटाएकाले संक्रमितको संख्या कमी देखिएको हो ।

सरकारको दाबी अनुसार दैनिक ३० हजार संख्याको कोरोना परिक्षण गर्ने क्षमता रहेको छ । तर दैनिक २३ हजार सम्मको कोरोना परिक्षण गरेको सरकारले अहिले दैनिक १२ हजारमा सिमित गरेको छ । यो हप्ताको तत्थ्याङ हेर्न हो भने जेठ ११ गते २२ हजारको परिक्षण भएकोमा आईतबारसम्म आईपुग्दा सो संख्या १२ हजारमा सिमित भएको छ । तर सरकारले भने समुदायस्तरमै परिक्षणको दायरा बढाउने बताईरहेको छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने गाँउगाँउमै एन्टिजेन परिक्षण पुगेका कारण प्रयोगशालासम्म आएर परिक्षण कम भएको हुनसक्ने दावी गर्दछ । गाउँमै परीक्षण हुने भएपछि त्यसको पर्खाइमा बसेको हुन सक्ने मन्त्रालयको जवाफ छ । अर्थात परिक्षणका लागि आउने नै कम भएका कारण दायरा घटेको उसको दाबी छ । चिकित्सकहरुका अनुसार पनि पछिल्लो समय सकिस्त संक्रमित आउने क्रम कम भएको छ । तर समुदायमा अझै संक्रमण रहेकोले परिक्षणको घटाउन नहुने भन्दै विज्ञहरुले सरकारको आलोचना गरेका छन् ।

जनस्वास्थ्यविद्हरुको तर्कलाई मान्ने हो भने परिक्षणको दायरा घटाउनु हानिकारक हुन सक्छ । पहिलो लहरको यहि गल्तीले दोश्रो लहरलाई मलजल गरेको उनीहरुको तर्क छ । अर्कातर्फ सरकारले निशुल्क परिक्षण गर्न नसक्दा कतिपयले भने लक्षण हुँदाहुदै पनि परिक्षण नै नगरी घरमा बस्ने गरेका छन । जसले कोरोना संक्रमण र मृत्युदर घटेको देखिए पनि महामारी नियन्त्रणमा घातक हुने जानकारहरुको भनाई छ । यसर्थ सरकारले घटेको संक्रमणमा चित्त बुझाउनुभन्दा पनि गाँउगाँउसम्म निशुल्क परिक्षणको व्यवस्था गर्नु जरुरी छ ।