राजनीति

सामन्तवादी शैली कायम हुँदा जनतामा निराशा बढ्यो : उपराष्ट्रपति पुन


काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लोपटक उत्पन्न राजनीतिक समस्याको समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका गणतन्त्रमा एकात्मक र आधारमा समस्या छिट्टै समाधान हुने कामना गरेका छन् ।

राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपति पुनले अपिल गरेका छन् ।

गणतन्त्र प्राप्त गर्न भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनान्दोलनका सहिदप्रति श्रद्धासुमन व्यक्त गर्दै उपराष्ट्रपतिले सहिद परिवार, घाइते र बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरेका छन् । उनले गणतन्त्र प्राप्तिको क्रान्ति र आन्दोलनमा सहभागी सबै नेपाली नागरिकलाई सम्मानका साथै बधाई ज्ञापन गरेका छन् ।