कोरोना विशेष

रुपन्देहीमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याइयो


काठमाडौँ – रूपन्देहीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बुधबार बसेको बैठकले जेठ २० गते सम्मको लागि निषेधाज्ञा थप भएको जानकारी दिनुभयो ।

यस अवधिमा शान्ति सुरक्षा , स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय प्रशासनले गरेको छ । यसअघि जेठ १३ सम्म निषेधाज्ञा प्रशासनले लगाएको थियो । कोरोना संक्रमण अझै नघटेकोले आज बसेको बैठकले थप गरेको हो ।

यस्तै जिल्ला भित्र सबै प्रकारका नीजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ ।

सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्ट स्टोर, सिटिङ्ग मल, ब्युटीपार्लर र स्टिमिङ्ग पुल, स्पा, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।