विदेश

मालीमा सैनिक कू : राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा


काठमाडौँ – मालीमा सैनिक ‘कू’ भएको छ । सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई हिरासतमा लिएर सत्ता हातमा लिएको छ ।

राष्ट्रपति बा एन्द, प्रधानमन्त्री मोत्तर ओएनी र रक्षामन्त्री सुलेमान डुकुउरे हाल राजधानी बमाकोको सैन्य क्याम्पमा सेनाको निगरानीमा रहेको अल्जाजिराले जनाएको छ । एक वर्षमा दोस्रोपटक सेनाले सत्ता हत्याउने प्रयास गरेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

माली पश्चिम अफ्रिकाको गरिब राष्ट्र हो । सोमाबर साँझ मात्र प्रधानमन्त्री ओएनीले एएफपीसँग टेलिफोनमा आफूलाई सेनाहरु लिन आएको बताएका थिए । त्यसपछि उनको फोन बन्द छ ।

यस कदमको संयुक्त राष्ट्रसंघले आलोचना गर्दै सबै नेतालाई रिहा गर्न सेनासँग आग्रह गरेको छ । राष्ट्रसंघसँगै अफ्रिकी संघ, इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स, युरोपेली संघ तथा अमेरिकाले पनि देशका प्रमुखहरुको गिरफ्तारी अवैधानिक भएको भन्दै निन्दा गरेका छन् । उनीहरुले कुनै सर्तबिना नेताहरुको रिहाई हुनुपर्ने बताएका छन् ।