कोरोना विशेष

कोरोना संकट लम्ब्याउँदै सरकार सत्ता जोगाउन केन्द्रित, जनता घरभित्रै थुनिएर बस्न वाध्य (भिडियोसहित)


काठमाडौँ – एक महिनायता देशले कोरोनाका कारण भयावह स्थितिको सामना गर्नुपरेको छ । कोरोनाको दोस्रो लहरले जनता हायलकायल छन् । तर, सरकार भने कोरोना संक्रमित र मृतकको तथ्याङक सार्वजनिक गर्नु बाहेक कोरोना नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गरेको छैन् । यता विज्ञहरु पनि सरकारको काम प्रभावकारी नभएकाले संक्रमण र मृत्युदर बढेको दाबी गर्छन् ।

सरकार कोरोना भाइरस संक्रमण नियन्त्रणमा पूर्ण असफल भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । कोरोना नियन्त्रणको लागि भनेर सरकारले निषेधाज्ञा जारी गरेको करिव एक महिना भइसक्यो । तर, पनि दिनप्रति दिन संक्रमित र मृतकको संख्या बढिरहेको छ । सडकमा प्रदर्शन हुन थालेको र फर्जी पास देखाएर सडकमा सावारी साधनको भीड लाग्दासम्म प्रशासन कार्यालय मुकदर्शक बनेको गुनासो जनस्तरबाट आउने गरेको छ ।

तर काठमाडौं जिल्ला प्रशासनले पनि निषेधाज्ञाको पूर्ण पालना भएको दाबी गरिरहेको छ । यता देशको प्रमुख कार्यकारीको भुमिका निर्वाह गर्नु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दिनप्रति दिन महामारीले भयावह रुप लिइरहेको बेलामा निरन्तर बालुवाटारमा सत्ता बचाउने एजेण्डामा बैठक आव्हान् गरिरहेका छन् । आफैले निषेधाज्ञा लागु गरेको पनि आफुले गरेको नियमलाई आफैले मिचिरहेका छन् ।

जनताको जीवन रक्षामा सरकार लागि पर्छ भनी दाबी गरिरहे पनि आजसम्म कुनै पनि काम जनताको पक्षमा गरेको देखिंदैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी भने फरक छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण भूमिका खेल्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यतिबेला गैरजिम्मेवारीको हद पार गरेको छ । संक्रमण दिनप्रतिदिन बढिरहेका वेला स्वास्थ्य मन्त्रीको काम अरुले कतिबेला सामान दिन्छन् र स्वीकार गरौला भन्ने तर्फ केन्द्रित छ । अब पनि सरकारले बेवस्ता गरे झनै संक्रमणले उग्ररुप लिने विज्ञहरुले चेतावनी दिइरहेका छन् ।

यता १४ लाखभन्दा बढी ज्येष्ठ नागरिकले यो महिनाको अन्त्यसम्म लगाइसक्ने भनिएको कोरोनाको दोस्रो डोज अनिश्चित बनेको छ । अस्पतालमा अक्सिजन, बेड पर्याप्त मात्रमा छैन । संक्रमितहरु उपचार अभावमा छट्पटाईरहेका छन् । तर सरकार भने निर्वाचनको तयारीमा जुटेको छ । सरकारको लापर्रवाहीदे नै नेपालमा महामारीको अवस्था थप भयावह हुने देखिन्छ । त्यसैले केही समय सरकार र सरोकारवालाहरुको संपूर्णको ध्यान कोरोना नियन्त्रणमा लगाउनु जरुरी छ ।