राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट बोकेर सर्वोच्च पुगे विपक्षी गठबन्धन


काठमाडौँ – विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न सर्वोच्च अदालत पुगेका छन् ।
उनीहरुले संसद् पुनस्र्थापना हुनुपर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र समुह र एमालेका माधव नेपाल समूहका गरी १४६ जना सांसद् अदालत पुगेका छन् ।

शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट सर्वोच्चमा पेश गरिएको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र–बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका गरी १ सय ४६ सांसदको हस्ताक्षरसहित नेताहरु सर्वोच्च पुगेका हुन् ।