कोरोना विशेष

संक्रमित व्यक्ति ‘होम आइसोलेसन’मा कसरी बस्ने ?(भिडियोसहित)


काठमाडौँ – कोरोनाको दोस्रो भेरिएन्ट फैलिएसंगै पछिल्लो एक महिनादेखि देशभर संक्रमण दर ह्वात्तै बढेको छ । पछिल्लो समय नेपालमा तेस्रो भेरिएन्ट पनि भेटिएका र यो थप घातक र सबै उमेर समूहका लागि उत्तिकै संक्रामक रहेको बताइन्छ । साथै होम आइसोलेसनका कारण संक्रमण दिनप्रतिदिन फैलिरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

सामान्य लक्षण भएका कोरोना संक्रमितलाई सरकारले घरकै आइसोलेसनमा राखेर उपचार गरिरहेको छ । अस्पतालले धान्न नसकेपछि सरकारले होम आइसोलेसनमै राख्न थालेको हो । अहिले संस्थागतमा भन्दा होम आइसोलेसनमा बस्नेको संख्या बढिरहेको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढेको छ । निको हुनेको संख्या उल्लेख्य भए पनि देशमा हालसम्म सक्रिया संक्रमित संख्या १ लाख १५ हजार ५ सय ४७ रहेका छन् ।
संक्रमितको संख्या बढ्दैगर्दा अस्पतालले नधान्दा सामान्य लक्षण भएका संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतवारको तथ्यांकअनुसार ७ हजार ३ सय ४९ संक्रमित संस्थागत आइसोलनमा रहँदा १ लाख ८ हजार १ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् । विज्ञ भने लक्षण नदेखिएको नाममा संक्रमितलाई घरमै राख्दा र पर्याप्त सावधानी नअपनाउँदा संक्रमण फैलने जोखिम उच्च देखिएको बताउछन् ।

उनीहरुले होम आइसोलेसनमा बस्दा विरामीहरुले आफैले काम गर्न सक्ने मात्र बस्नु पर्ने र सिकिस्त भएमा परिवारले नै हेरविचार गर्नु पर्ने भएकोले परिवालाई जोगिन गाह्रो हुने भन्दै अस्पताल मै जानु पर्ने सुझाव दिन्छन् । विज्ञका अनुसार होम आइसोलेसनमा संक्रमितले पर्याप्त सावधानी नअपनाउँदा परिवारका अन्य सदस्य संक्रमित हुने र समुदायमा समेत फैलिने गरेका कारण अहिले संक्रमणदर उच्च देखिएको हो ।

कोरोना संक्रमण दर बढेको बढ्यै भए पनि संक्रमणको “चेन ब्रेक” गर्नेतर्फ सरकारका तर्फबाट अहिलेसम्म प्रभावकारी प्रयास भएको देखिँदैन । संक्रमितहरूलाई होम आइसोलेसनमा बस्न सरकारले यसअघि नै अनुरोध गरिसकेको छ, तर होम आइसोलेसनलाई उचित निगरानी नगर्दा कोरोना नियन्त्रणको प्रयास प्रभावकारी हुन सकेको छैन ।।