बिजनेस

सेयर बजारमा ऐतिहासिक रेकर्ड


काठमाडौँ – साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक आइतबार मध्यान्ह २८ सय २० माथि पुगेर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले आइतबार नयाँ रेकर्ड कायम भएको पुष्टि गर्नुभयो ।

संसद विघटन भएसँगै अब राजनीतिक अस्थिरता निम्तिएका कारण बजार घट्छ कि भन्ने आकलन गरिएको थियो । आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घट्यो । त्यसपछि सम्हालिएको परिसूचक कारोबार बन्द हुँदासम्म ३२ दशमलव ८१ अंकले बढेर २ हजार ८ सय २० मा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

२२० कम्पनीको सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ६५ करोड ५८ लाख रूपैयाँ पुगेको छ । आइतबार नेप्सेमा कारोबार हुने ३ वटा समूहगत परिसूचकहरु घटेका छन् भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् । घट्नेमा होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त समूह देखिएका छन् । सबैभन्दा धेरै बढ्नेमा भने विकास बैंक र फाइएनान्स समूह छ ।