राजनीति

मध्यरातमा ओली र राष्ट्रपतिको ताण्डप नृत्य, देउवा–प्रचण्ड फेरि अदालत र सडकमा, देश फेरि खतरामा (भिडियोसहित)


काठमाडौँ – शुक्रबार मध्यरातमा प्रतिनिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि मुलुक नयाँ राजनीतिक कोर्षमा प्रवेश गरेको छ । तर सरकार बन्ने बहुमत हुँदाहुँदै राष्ट्रपति र प्रधानमन्त्रीको छलकपटले विपक्षी आक्रोशित छन् । फेरि न्याको ढोका ढकढक्याउने बाहेक विपक्षीसंग अरु के विकल्प रहला ? राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानलाई नेकपा एमालेको घोषणा पत्र जस्तो बनाईदिए । अझ घोषणा पत्र कार्यान्वयनका लागि पनि पार्टीमा सबैको सहमति चाहिन्छ, नेताहरुसंग छलफल र बहस गरिन्छ ।

तर संविधान त यी दुई व्यक्तिको कानेखुशी भए पुग्ने अवस्थामा पुर्याईदिएका छन् । जसको अर्काे पराकाष्ठा शुक्रबार विपक्षीको गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत पुर्याएर देखाईदिएपछि भएको हो । देउवाको बहुमतले झस्काई दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ताण्डप नृत्य मध्यरातमा बेजोड देखियो । वैकल्पिक सरकार निर्माणमा १४९ सांसदले गरेको हस्ताक्षरलाई राष्ट्रपतिले वेवास्ता गर्दै एकाएक संसद् विघटन गरेर कात्तिक २६ र मंसिर ३ का लागि चुनावको मिति घोषित भएको छ । जनता कोरोना कहरले मरिरहेका बेलामा लासमाथि टेक्दै भोट माग्न जाने ओलीको कदमलाई अब विपक्षीदलले कसरी रोक्लान् यो नै अहिलेको मुल प्रश्न हो ।

पाँच दलको विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनको राजनीतिक र कानूनी प्रतिवाद गर्ने निर्णय त गरेको छ । यसका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भूमिका केन्द्र भागमा रहने छ । किनकि यसअघि पुस ५ को विघटनमा सभापति देउवाको कित्ता स्पष्ट नहुँदा कांग्रेस ढुलमुले बनेको थियो । अहिले पनि उसै गरि अघि बढे ओलीका अघि विपक्षी असफल नै रहने छन् । तर कांग्रेस सभापति देउवालाई राष्ट्रपतिबाट अविश्वास मात्रै होईन अपमान नै भएपछि ओलीविरुद्ध लाग्नु पर्ने बाध्यता आइलागेको छ ।अघिल्लो पटक संसद विघटन हुँदा लगभड चुपचाप रहेको काँग्रेस यस पटक बाध्य भएर विपक्षी गठवन्धनसंग मिलेर ओलीविरुद्धको प्रतिवादमा उत्रनु पर्ने भएको छ ।

ओली–भण्डारीको कदमपछि नेपाली कांग्रेस पूर्णतः आक्रोशित देखिन्छ । पार्टी सभापति देउवाले संविधानलाई निजी सम्पतिका रुपमा आफु अनुकुल प्रयोग गरेको भन्दै अनैतिक कार्यको प्रतिवाद थालिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले यसलाई ओली–भण्डारीको जालसाजी भनेका छन् । र देउवाकै नेतृत्वमा ओली प्रवृत्तिको निर्मुलीकरण गर्नु पर्ने पौड्लको भनाई छ । अर्का नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिको देशघाती जोडीले मुलुकलाई अध्याँरो सुरङमा हालेको आरोप लगाएका छन् ।

त्यसबाहेक विपक्षी गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संसद्को चीरहरण गरेको बताएका छन् । त्यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान मास्ने प्रपञ्च गरेको बताएका छन् । अन्य नेताहरुको पनि विरोध कायमै छ । तर ढाँडका दस्ताबेज ओली र कपटका दस्ताबेज भण्डारीका अघि निरिह नै बन्छन् कि अझै सशक्त प्रतिवादमा उत्रिन्छन्, हेर्न बाँकी नै छ ।