कोरोना विशेष

भारत र चीनबाट अक्सिजनसहित स्वास्थ्य सामग्री प्राप्त हुँदैछ : ईश्वर पोखरेल



काठमाडौँ – उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले छिमेकी मुलुक भारत र चीनबाट नेपालमा अक्सिजन प्राप्त हुन थालेको बताउनुभएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा सामाखुसीमा स्थापना भएको थेरापीसहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी मुलुकहरू भारत र चीन लगायतका देशबाट अक्सिजन लगायतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको बताउनुभयो ।

उहाँले अक्सिजन र भ्याक्सिनका लागि जतिसुकै बजेट लागे पनि, जुनकुनै प्रक्रियाबाट भए पनि ल्याउने र जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अक्सिजन र भ्याक्सिनका लागि जि टू जिबाट लिए पनि, बि टू बि बाट लिए पनि जुनसुकै तरिकाबाट लिए पनि जनताको स्वास्थ्य रक्षा गर्ने पहिलो कुरा हो। त्यसमा जतिसुकै बजेट लागोस्। जहाँसुकै भन्नु परोस्। सरकारको प्राथमिकता हो। अक्सिजन छिमेकी मुलुक भारत सरकारबाट, भारत सरकारका प्रधानमन्त्रीसँग कुराकानी गरेर अहिले प्राप्त हुन थालेको छ। चीनबाट पनि अक्सिजन भरिएका सिलिण्डरहरू हामीले प्राप्त गर्न थालेका छौं । निजी क्षेत्रलाई पनि ल्याउनका लागि जसरी सहजता हुन्छ त्यो सहज गराउन कोसिस गरिन्छ।’