कोरोना विशेष

कोरोना संक्रमणबाट माओवादी नेतृ हरिसरा घर्तीको निधन


काठमाडौँ – कोरोनाका कारण नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिसरा घर्तीमगरको निधन भएको छ । घर्तीको शुक्रबार बिहान ५ बजे दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो ।

माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि सहकारीलगायत संघसंस्थामार्फत सामाजिक सेवामा पनि आवद्ध थिइन् । कोरोना संक्रमणपछि उनलाई गत जेठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो । रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते बेलझुण्डीस्थित कोरोना अस्पतालमा सिफारिस गरिएको थियो । बेलझुण्डी अस्पतालमा उपचाररत घर्तीको बिहान ५ बजे मृत्यु भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिए ।

कोरोनाको दोस्रो लहरसँगै रोल्पामा मृत्यु हुने घर्ती हालसम्मकै उच्च तहको राजनीतिक नेतृ हुन् । यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारीअनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या ५३८ रहेको छ। तीमध्ये ८३ जिल्लाभित्र रहेका विभिन्न आइसोलेशनमा रहेका छन् भने ४५० जना होमआइसोलेशनमा रहेका छन् ।

संक्रमितमध्ये ६५ निको भइसकेका छन् । जिल्लामा आइसियु र भेन्टिलेटरको व्यवस्था भने हालसम्म हुन सकेको छैन । जिल्ला अस्पतालका साथै सबै स्थानीय तहहरुले आइसोलेशन स्थापना गरे पनि अक्सिजन सिलिण्डरको समस्या देखिँदै आएको छ ।