राजनीति

जसपा संसदीय दलको बैठक बस्दै


काठमाडौँ – नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले नयाँ सरकार गठनका सम्बन्धमा छलफल र निर्णय गर्ने छ ।

राष्ट्रपति विध्या भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि जसपाले दलको बैठक बोलाएको हो । यो बैठकमा जसपाको उपेन्द्र यादव समूह सहभागी हुने नहुने निश्चित भैसकेको छैन ।

जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा जाने निर्णय पार्टीले गरेको भन्दै संयुक्त वक्तव्य केही दिनअघि मात्रै जारी गरेका थिए ।

राष्ट्रपतिले ७६ (५) को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छिन् ।