राजनीति

एमाले एकता बिथोलिएको महासचिव पोखरेलको घोषणा


काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादलको पराजयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति तीव्र आक्रोश पोखेका छन् ।

बिहीबार भएको उपचुनावमा एमालेबाट उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल एमालेकै नेपाल पक्ष र विपक्ष दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका डा. खिमलाल देवकोटा विजयी भएका छन् । नेपाल पक्षमा मतदाताले साथ नदिँदा बादल पराजित भएका हुन् ।

यसलाई एमाले महासचिव पोखरेलले ‘राष्ट्रिय सभाको निर्वाचनमा लज्जास्पद नाटक’ भनेका छन् । ‘राष्ट्रिय सभाका लागि भएको उपनिर्वाचनमा देखिएका हर्कतहरू अत्यन्तै निष्कृष्ट र अक्षम्य छन्,’ बिहीबार राति जारी वक्तव्यमा पोखरेलले भनेका छन्, ‘यस खाले अराजक कृत्यले नेकपा ९एमाले० भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ ।’

यसलाई उनले पार्टीविरूद्ध गरिएको ‘अपराधपूर्ण काम’को संज्ञा दिएका छन् । भनेका छन्, ‘पार्टी विधान, पद्धति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ ।’

उनले भनेका छन्, ‘विषम अवस्थामा पार्टी विभाजनका विरूद्ध दृढतापूर्वक उभिँदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक छ ।’

एमालेका ओली पक्ष र नेपाल पक्ष पार्टीमा एकता कायम गर्न भनेर कार्यदलसमेत बनाई वार्ता गरिरहेका बेला महासचिव पोखरेलबाट नकारात्मक अभिव्यक्ति आएको हो ।