देश

कपिलवस्तुमा माओवादी जिल्ला नेतामाथि गोली प्रहार


काठमाडौँ – नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि अज्ञात समूहबाट गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली प्रहार गरेको हो ।

कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । नदीजन्य पदार्थ ठेक्कापट्टाको काम गर्ने घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

पाण्डेको व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । अहिले उनको अवस्था मध्यम रहेको प्रवक्ता भण्डारीले बताएका छन् ।