कोरोना विशेष

सर्वोच्चको अन्तरिम आदेश : मास्क नलगाउनेसँग जरिवाना नलिनु


काठमाडौँ – सर्वोच्च अदालतले मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । हाल मास्क नलगाई हिँडेमा प्रहरीले जरिवाना लिने र होल्डिङ सेन्टरमा राख्ने गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले जारी गरेको आदेशमा भनिएको छ ‘यस्ता कार्यहरु नेपालको संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्था प्रतिकुल नेपाल प्रहरीले अनधिकृत रुपमा प्रयोग गरेको देखिँदा प्रस्तुत रिटको टुंगो नलाग्दासम्म मास्क नलगाउने नागरिकलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यहरु तत्काल नगर्नू, नगराउनू’।

सङ्क्रामक रोग ऐनको दफा ४ मा ऐन अन्तर्गत भए गरेको कसुरमा कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था रहेको छ । सरकारले आधारभूत स्वास्थ्य सेवा निशुल्क भने पनि निशुल्क पाउने औषधिको सूचीमा मास्क र सेनिटाइजरसमेत राख्नुपर्नेलगायतको माग गर्दै अधिवक्ता सागर पौड्यालसमेतले सर्वोच्चमा रिट दिएका थिए ।