देश

माधव नेपालसँगको छलफल सकारात्मक : गृहमन्त्री थापा

नेपाल पक्ष नेता भन्छन्, उहाँ हाम्रो उम्मेदवार होइन


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभाका उपनिर्वाचनका लागि एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग सहयोग माग्न कोटेश्वर नेपाल निवास पुग्नुभएको हो ।
थापाले नेपालसँगको भेट सकारात्मक भएको बताउनुभएको छ । बिहीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार रहेका गृहमन्त्री थापाले वरिष्ठ नेता नेपालसँग भेट गरेपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार भेट सकारात्मक भएको हो । जेठ ६ गतेको राष्ट्रियसभाको उपनिर्वाचन र पार्टीको आन्तरिक विषयमा केन्द्रित कुराकानी भएको भट्टराईले जानकारी दिनुभयो ।

तर नेपाल पक्षका एक नेताले भने आफूहरूले बादललाई सहयोग गर्न नसक्ने बताएका छन् । ‘बादल जीले तपाईंहरूको समूहको भोट चाहियो भनेर भन्नुभएको हो। तर बादललाई नेपालले कुनै जवाफ दिनुभएको छैन,’उनले भने, ‘किनकी उहाँ हाम्रो उम्मेदवार होइन। त्यसैले भोट हाल्छौं भनेर वचन दिने कुरै भएन।’ जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ।