देश

ओली नेतृत्वमा जाँदैनौँ, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छौँ : जसपा


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्काल नजाने बताएको छ । मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै तत्काल सरकार नजाने घोषणा गरेका हुन् । आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने भएमा मात्र अघि बढ्ने उनीहरुले बताएका छन् ।

“पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अड्कलबाजीहरू भइरहेका छन् । तत्काल हामो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ,” विज्ञप्तिमा भनिएको छ ।

जसपाका केही नेतृत्वहरूबाट नै गुट–उपगुट खडा गर्ने, पार्टीभित्र गुटबन्दी गरी अराजक कियाकलाप गर्दै आ–आफ्नो पक्ष खडा गरी सञ्चारमाध्ययमहरूमा समेत दिइएका गैरराजनीतिक, गैरजिम्मेवार अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण भएको ठाकुर र यादवले बताएका छन् ।
यस्ता गतिविधिहरू पार्टी एकता, अनुशासन, आचारसंहिता एवं पार्टी कार्यपद्धतीका प्रतिकूल रहेका भन्दै यस्ता गतिविधिलाई तुरून्त बन्द गर्न भनिएको छ।