राजनीति

खिमलाललाई मतदान गर्न माओवादी केन्द्रद्वारा ह्‍वीप जारी


काठमाडौँ – आसन्न जेठ ६ मा हुने बागमति प्रदेश अन्र्तगत राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले विपक्षी गठबन्धनबाट साझा उम्मेदवार खिमललाई देवकोटालाई मतदान गर्न ह्वीप जारी गरेको छ ।

सोमबार माओवादी केन्द्रका वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटालाई मतदान गर्न निर्देशन दिएको हो ।

‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले वागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख/अध्यक्ष र उप/प्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’

नेकपा एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ लाई भने ‘प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेको’ आरोप लगाइएको छ ।

गत बैशाख २४ मा बागमति प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको दाबेदारी गर्दै नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनको तर्फबाट डा.खिमलाल देवकोटालाई साझा उम्मेद्वारको रूपमा अघि सारिएको थियो । नेकपा एमालेको माधव पक्षका उनलाई विपक्षी गठबन्धनमा कांग्रेसको समर्थन र माओवादी केन्द्रको प्रस्तावमाउम्मेद्वार बनाईएको हो । जसमा जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले समेत साथ दिएको छ ।

नयाँ सरकार निर्माणमा गठबन्धनलाई सघाउने बचन दिएपछि विपक्षी माधव पक्षकै नेतालाई उम्मेद्वार बनाउन राजी भएका थिए । तर उम्मेदवारी दर्ता गराएको एक साता नबित्दै माधव पक्षको एकाएकको युटर्नले मुलुकको राजनीतिक समीकरण नै परिवर्तन भएको छ । विहिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तिक्तता चिर्दै एकहुने संकल्प गरिएपछि एउटै पार्टीका दुई उम्मेद्वार भिड्ने पक्का भएको छ ।