कोरोना विशेष

कोरिया मैत्री अस्पताललाई काठमाडौँ महानगरको सहयोग, तीन भेन्टिलेटर प्रदान


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई तीनवटा भेन्टिलेटर प्रदान गरेको छ। महानगरका मेयरविद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले आइतबार अस्पताल पुगेर भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।

नगर नगर साझेदारी कार्यक्रमअन्तर्गत हिजोका दिनमा सम्पदा र पर्यावरण जोगाउन साझेदारी गर्दै आएकोमा अहिलेको विपतमा यो अदृश्य शक्तिसँग लड्न पनि साझेदारी गर्नुपर्छ भनेर यो सहयोग गरेका मेयर शाक्यले बताए । अहिलेको अवस्थामा नयाँ सेवा बिस्तारभन्दा पनि भएका संरचनाको पूर्वाधार विकास गर्नुपर्ने र जसले राम्रो सेवा गरिरहेको छ त्यसको स्तरवृद्धिमा सहयोग गर्न पाए दक्ष जनशक्तिले थप स्तरीय सेवा दिन सक्छ भन्ने अपेक्षा लिएर सहयोग गरेको उनले बताए।

यसअघि सातवटा भेन्टिलेटरमा कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालले अब थपिएको तीन भेन्टिलेटरसँगै १० संक्रमितलाई भेन्टिलेटर सेवा दिन सकिने मध्यपुर थिमि नगरपालिकाका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले बताए। उनले महानगरको सहयोग महत्वपूर्ण रहेको बताउँदैं महानगरको सहयोगले कोरोना संक्रमितको उपचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।